|  

इटालियन सिरी ‘ए’ फुटबल: मिलान डर्बीमा इन्टरको सानदार जित

१० फागुन, काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले एसी मिलानविरुद्ध सानदार जित निकालेको छ । आइतबार राति भएको मिलान डर्बी भिडन्तमा इन्टरले ३–० गोल अन्तरको जित निकालेको हो ।

मिलानको घरेलु मैदान सानसिरोमा इन्टरलाई जित दिलाउन लाउटारो मार्टिनेजले दुई गोल गरे । यस्तै रोमेलु लुकाकुले एक गोल गरे ।
खेलको पाँचौ मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

खेलको ५७ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दा इन्टरको अग्रता २–० को बन्यो । त्यसपछि खेलको ६६ औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई ३–० को जित दिलाए ।

जितसँगै इन्टरले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । इन्टरले २३ खेलबाट ५३ अंक जोडेको छ । मिलानले २३ खेलमा ४९ अंक जोडेको छ । मिलान लिगको दोस्रो स्थानमा रहेको छ ।