५ असार, काठमाडाैँ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बुधवार सार्वजनिक गरेको छ ।
मेयर चिरीबाबु महर्जनले पाँचौँ नगर सभामा आगामी आवको ३३६ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । आव ०८१/८२ को नीति तथा कार्यक्रममा महानगरपालिकाको ‘आयोजना बैङ्क’ को काम भइरहेकाले आगामी आवदेखि सो बैङ्कबाट आयोजना छनोट गरी वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्ने परिपाटी विकास गरिने उल्लेख गरिएको छ।
प्रस्तुत नीति तथा कार्यक्रममा आगामी वर्षदेखि आवधिक योजनाबमोजिम मध्यमकालीन खर्च संरचना तयार गरी सोहीअनुसार वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्ने व्यवस्था मिलाइने, बजेट तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न ‘कार्यक्रम कार्यान्वयन कार्ययोजना’ तथा ‘खरिद योजना’ अनिवार्य तवरले तर्जुमा गरिने, स्वीकृत योजनाको कार्यान्वयन तथा प्रगति सम्बन्धमा त्रैमासिक समीक्षा गर्ने व्यवस्था अनिवार्य तवरले गरिने नीति प्रस्ताव गरिएको छ।