०६ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस काउन्सिल नेपालको पुनर्संरचना गर्नेगरी मिडिया काउन्सिल विधयेक र सार्वजनिक सेवा प्रसारण विधेयक संसद्मा छलफलको क्रममा रहेको बताएकी छन् ।
आज प्रतिनिधिसभा बैठकमा विनियोजित बजेटअन्तर्गत सञ्चार मन्त्रालयको शीर्षकप्रति सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले सो बताएकी हुन् । उनले राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमाको अन्तिम चरणमा रहेको भन्दै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्दै लैजान आवश्यक रहेको बताइन । मन्त्री शर्माले नेपाललाई सूचना प्रविधिको हवको रूपमा विकास गर्ने र आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाउन आगामी आर्थिक वर्षलाई प्रारम्भ वर्षको रूपमा लिई काम गर्ने बताइन् ।
सूचना प्रविधि क्षेत्रमा आगामी १० वर्षमा ३० खर्बको निर्यात र १० लाखको रोजगारी सिर्जना हुनेमा विश्वस्त रहेको उनले बताइन् । उनले सार्वजनिक सेवा प्रवाहलाई छिटो, सरल, सहज र पारदर्शी बनाइ प्रभावकारी सेवा प्रवाहको लागि एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा सबै संघीय मन्त्रालय र लुम्बिनी प्रदेशका सबै मन्त्रालयहरू आबद्ध भएको उल्लेख गरिन् । साइबर आक्रमणको पहिचान, रोकथाम र प्रतिकार्य गर्दै उत्थानशील साइबर स्पेश तयार गर्ने उद्देश्यका साथ राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना गरिएको उनले बताइन् । मन्त्री शर्माले साइबर सुरक्षासम्बन्धी विधेयक तर्जुमा भइरहेको जानकारी दिइन् ।