|  

आजबाट मेलम्चीको पानी काठमाडौंमा नआउने

७ असार, काठमाडौं । काठमाडौं उपत्यकामा आइरहेको मेलम्ची खानेपानी आजबाट काठमाडौंमा नआउने भएको छ ।

वर्षातका कारण नदीमा धमिलो पानी बग्न थालेपछि काठमाडौं पानी पथान्तरण रोकिएको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ।मेलम्चीबाट दैनिक २० करोड लिटर पानी काठमाडौं आइरहेको थियो । काठमाडौंमा हाल अस्थायी तवरले पानी पथान्तरण गरिँदै आएको छ ।

२०७८ असार १, साउन १६ र १७ गते भेमाथाङबाट आएको भलबाढीले मेलम्ची खानेपानी आयोजनाको बाँध क्षेत्र  (हेडवर्क्स)सहित तल्लो तटीय क्षेत्रमा असर पुर्‍याएको छ । मेलम्ची आयोजनाको बाँध क्षेत्र अझै पुरिएको अवस्थामा छ ।

पुरिएका एक नम्बर र १९ नम्बर गेट खोलेर अस्थायी तवरले काठमाडौं पानी ल्याइएकामा वर्षामा बन्द गरिएको हो । अघिल्लो वर्ष पनि असार ७ गतेदेखि नै पानी पथान्तरण रोकिएको थियो भने माघ १ गतेदेखि काठमाडौंमा पानी ल्याइएको थियो।