|  

अवैध विद्यावारिधि बाड्ने भारतीय विश्वविद्यालयको कार्यक्रम रोक्न शिक्षामन्त्रीको ठाडो निर्देशन

०८ असार, काठमाडौं । शिक्षा मन्त्रालयले अवैध रूपमा विद्यावारिधि बाड्ने भारतीय विश्वविद्यालयको कार्यक्रमलाई रोक्न निर्देशन दिएको छ ।

शिक्षा मन्त्री सुमना श्रेष्ठको ठाडो निर्देशनमा आज पर्यटन बोर्डको हलमा गर्ने भनिएको उक्त कार्यक्रम रोक्न निर्देशन दिइएको हो । सोक्रेटस सोसियल रिसर्च युनिभर्सिटी नामक विश्वविद्यालयले ५१ हजार रकम लिएर ५० जना व्यक्तिहरूलाई मानार्थ विद्यावारिधि बाड्दै थियो । तर, सञ्चार माध्यममा उक्त समाचार आएपछि शिक्षा मन्त्रालयले रोक्न निर्देशन दिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको सचिवालयले जनाएको छ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय काठमाडौँले आयोजक र आयोजना स्थलबारे आवश्यक समन्वय गरिरहेको र आयोजकले कानूनविपरित कार्यक्रम जारी राखे प्रशासनले आवश्यक हस्तक्षेप गर्नुका साथै यस विषयमा मन्त्रालयले थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ ।