|  

प्रचण्डलाई सांसद केसीको प्रश्न-‘ मन्त्रिलाई कस्तो कमाण्डिङ गर्नुभएको छ ? 

०९ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दा आफ्नै मन्त्रिपरिषदका सदस्यहरु पनि उपस्थित नहुनु गम्भीर विषय भएको बताएका छन् ।

आज प्रतिनिधि सभामा बोल्दै केसीले गत बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री निरीह देखिएको बताएका हुन् । उनले भने,‘अस्ति प्रधानमन्त्रीले रोष्ट्रमबाट बिलौना गर्नुभयो । प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दा आफ्नै वरिष्ठ मन्त्रीहरु उपस्थित नहुने । उहाँले बैराग गर्नुभयो । कसका कारणले भयो यस्तो ?’ सांसद केसीले आफ्नै मन्त्रिपरिषदका सदस्यलाई प्रधानमन्त्रीले कस्तो शिक्षादीक्षा दिए र कस्तो कमाण्डिङ गरे भनेर पनि प्रश्न गरे ।
असार ६ मा प्रतिनिधि ससभाको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले संसदमा शीर्ष नेता र सांसदहरुको उपस्थिति कम भएको गुनासो गरेका थिए । त्यसदिन प्रधानमन्त्री संसदमा बोलिरहँदा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रतिनिधि सभामा थिए । तर, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ अनुपस्थित थिए ।

साथै उनले कुनै मन्त्रीले आफ्नो जिल्लामा दशौं अर्ब थुपार्दा अन्य जिल्लाका सांसदहरु रित्तो हात निर्वाचन क्षेत्रमा जानुपर्ने अवस्था रहेको केसीको भनाइ छ ।