|  

मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

९ असार, काठमानडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल लगायतविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ ।

अहिले विशेष अदालतमा अख्तियारले पेश गरेको आरोपपत्र, मुद्दाको मिसिल र प्रमाण कागजात रुजु गर्ने काम भइरहेको छ ।

आरोपपत्र दर्ता हुनासाथ मुख्यसचिव डा. अर्याल स्वतः निलम्बनमा पर्नेछन् । बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा लागेको नेपालको निजामति इतिहासमा यो सम्भवतः पहिलो घटना हो । अर्यालसँग सुरक्षण मुद्रण केन्द्रबाट बर्खास्तमा परेका विकल पौडेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव हुँदा योजना छनौटका आधारभूत प्रक्रिया नै पूरा नगरी सुरक्षण मुद्रण केन्द्रका नाममा ठूलो रकम विनियोजन गर्ने काममा संलग्न थिए ।

तत्कालीन अवस्थामा अर्याल ९ महिनासम्म सञ्चार सचिव रहेका थिए । त्यो ९ महिनामा ४३ करोड ३२ लाख स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्र र प्रिन्ट सेलबीच करिब ३८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

त्यसबेला विकल पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक थिए । पौडेल कार्यकारी निर्देशक भएका बेला ४३ करोड ३२ लाख अन्तःशुल्क स्टिकर छाप्न ठेक्का लगाइएको थियो । यो प्रकरणमा पौडेल यसअघि नै अनुसन्धानमा तानिइसकेका छन् ।