|  

खेलकुद क्षेत्रको विकास मन्त्रालयको पहिलो प्राथमिकताः खेलकुदमन्त्री

०९ असार, काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद क्षेत्रको विकासलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले युवाको आकर्षण बढ्दै गएको खेलकुद क्षेत्रको विकास मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताएका हुन् । मन्त्री श्रेष्ठले खेलकुदको माध्यमबाट स्वस्थ र अनुशासित नागरिक तयार गरी राष्ट्रिय एकता र राष्ट्रिय गौरव बढाउन मन्त्रालयले प्राथमिकता दिएको बताए । उनले युवाको आकर्षण बढ्दै गएको खेल क्षेत्रको संरक्षण र विकास गरी राष्ट्र निर्माणमा सहभागी गराउन प्रयासरत रहेको बताए ।

खेलकुदमन्त्री श्रेष्ठले सीमित स्रोतसाधनका बाबजुद पनि खेलकुद क्षेत्रको समग्र सुधारका लागि लागिपरेको बताए । युवामा विकराल बन्दै गइरहेको लागूऔषको समस्या समाधान गर्न र उनीहरुलाई राष्ट्रनिर्माणमा प्रोत्साहन गर्न मन्त्रालयले नमूना युवा कार्यक्रम अगाडि बढाएको बताए ।  मन्त्री श्रेष्ठले खेलकुद पूर्वाधार विकासका लागि मूलपानी क्रिकेट रङ्गशाला निर्माण,  कीर्तिपुरको क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान, खेलाडी फिटनेस हल तथा सामग्री व्यवस्था, हाइअल्टिच्यूट ट्रेनिङ सेन्टर र खेलकुद तालिम केन्द्र स्थापना कार्यलाई प्राथमिकतामा राखिएको जानकारी दिए । युवालाई लागूऔष र कुलतबाट जोगाउन ‘आफ्नो माटो चिनौ’जस्ता युवा लक्षित कार्यक्रम अनुसन्धानका आधारमा ल्याइएको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले यो पटक पूर्वाधारमा भन्दा कार्यक्रममा बजेट बढी खर्च गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पारे । उनले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रु ६० करोड बजेट विनियोजन भएको तथा मूलपानी क्रिकेट रङ्गशालाका लागि रु ५० करोड रकम व्यवस्था गरिएको जानकारी दिए ।