|  

सरकारी अस्पतालमा लामो समय लाइन बस्नुपर्ने बाध्यता हटाउँदै सरकार

१० असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा लामो समय लाइन बस्नुपर्ने बाध्यता हटाउने प्रयास भइरहेको जानकारी दिएका छन् ।

आजको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको आगामी वर्षको बजेट विनयोजन शिर्षकअन्तर्गत बोल्दै उनले लामो समय लाइन बस्नुपर्ने बाध्यता नबनाउन मन्त्रालयमा उच्चस्तरीय टोली गठन भइ काम सुरु गरिएको बताएका हुन । उनले हाल सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अस्पतालमा नजानको लागि विस्तारित सेवा केही संघीय अस्पतालमा लागू भइसकेको र बाँकी लागू गर्ने क्रममा रहेको बताए। उनले उपत्यकाका ठूला अस्पतालहरुमा दुई सिफ्टको सेवा सञ्चालन गर्ने, विस्तारित सेवा लागू गर्ने लगायतका कार्यक्रम अघि बढाइएको पनि जानकारी दिए ।

साथै मन्त्री यादवले मिर्गौलासम्बन्धी रोगमा ४ लाख ५० हजारसम्म सहुलियत प्रदान भइरहेको बताए।