|  

निलम्बित सांसद फणीन्द्र देवकोटामाथिको कारबाही रोक्न सर्वोच्चको आदेश

१० असार, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाको रिटमा अन्तरिम आदेश जारी गरेको छ ।

देवकोटाले आफूविरुद्ध नेकपा माओवादी केन्द्र संसदीय दल गण्डकी प्रदेश संसदीय दलले गरेको कारबाहीविरुद्ध हालेको रिटमा सर्वोच्चले उनको पक्षमा अन्तरिम आदेश दिएको छ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटालाई राहत दिने गरी माओवादीको कारबाही रोक्न अन्तरिम आदेश र विपक्षीका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ।

माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा लिएर देवकोटा गोरखाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । मुख्यमन्त्रीलाई विश्वासको मत नदिने पार्टीको ‘ह्वीप’ उल्लंघन गरेको भन्दै माओवादी केन्द्र संसदीय दलले गएको जेठ २९ गते उनलाई कारबाही सिफारिस गरेको थियो । त्यही सिफारिसबमोजिम गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले उनलाई दल त्याग गरेका आधारमा सांसद पदबाट मुक्त भएको घोषणा गरेका थिए ।