|  

मेयर बालेनलाई वडाअध्यक्षको प्रश्न -‘हामीले के लेनदेन गर्‍यौँ ? कहाँनिर गर्‍यौँ भनिदिनु पर्‍यो’

१० असार, काठमाडौं ।  काठमाडौं महानगरपालिका वडा नं. १५ का वडाअध्यक्ष ईश्वरमान डंगोलले मेयर बालेन्द्र साहलाई हामीले कहाँनिर लेनदेन गर्‍यौँ भनिदिनु पर्यो भन्दै प्रश्न गरेका छन् । 

सोमबार बसेको नगर सभाको १५ औं अधिवेशनको तेस्रो बैठकमा बोल्ने क्रममा डंगोलले  राजनीतिक लेनदेन गरेर सहमति गर्ने भनेर आरोप आउँछ । हामीले के लेनदेन गर्‍यौँ ? भनिदिनुपर्छ भनेर प्रश्न गरेका हुन । 

‘हामीले कसैलाई विभेद गर्दैनौँ । तर पनि फेसबुकमा अनेक आरोपसहित यस्ता कुराहरू आउँदा म सुत्न सकिनँ’, उनले भने, ‘अनेक आरोपसहित निद्रा नआउने कुरा किन गरिन्छ ? राजनीतिक लेनदेन गरेर सहमति गर्ने भनेर आरोप आउँछ । हामीले के लेनदेन गर्‍यौँ ? भनिदिनुपर्छ ।’

उनले मेयर साहले फेसबुकमा लेखे जस्तो लेनदेनबारे जवाफ दिनुपर्ने बताए । ‘हामीले तीनजना मिलेर के लेनदेन गर्‍यौँ ? अरुसँग के लेनदेन गर्‍यौँ ? हामीले कहाँनिर लेनदेन गर्‍यौँ हामीलाई भन्नुस्’, उनले मेयर साहलाई भने, ‘हामीलाई जनप्रतिनिधि, अबुझ, झोले भन्छन्, त्यसमा कुनै आपत्ति छैन । तर के हामी सबै जनप्रतिनिधि त्यस्तो हो र ? हामीले सहयोग गर्दा गर्दै पनि यस्ता आरोप किन आइरहन्छन् ?’

उनले जनताले मत दिइसकेपछि जनप्रतिनिधिका रुपमा सम्मान गरिनुपर्ने, स्वीकारिनुपर्ने बताएका छन् ।