|  

काठमाडौं महानगरको २५ अर्ब ७० करोड बजेट प्रस्तुत

१० असार, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोलले सोमबार उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

महानगरले आगामी आर्थिक वर्षमा ११ वटा गौरवका योजना अगाडि सारेका छन् । त्यसका लागि ३ अर्ब बजेट विनियोजन गरिएको उपप्रमुख डंगोलले जानकारी दिएकी छन् ।

त्यस्तै काठमाडौं महानगरपालिकाले २ अर्ब बराबरको ३० वटा स्वर्णिम योजना ल्याएका छन् । जसमा ढलरहित नदीलगायत रहेका छन् ।

काठमाडौँ महानगरले गत बर्ष २४ अर्ब ८ करोडको बजेट प्रस्तुत गरेको थियो । चालु आर्थिक बर्षमा महानगरले १० अर्ब ८० करोडको राजस्वसहितको आम्दानी गरेको र हाल महानगरको बैंक खातामा १३ अर्ब २३ करोड रहेको डंगोलले जानकारी दिएकी छन् ।

महानगरले गत बर्षको बजेटको ९ अर्ब ३३ करोड मात्र खर्च गरेको उनले बताएकी छन्, जुन कुल बजेटको ३९ प्रतिशत मात्र हो ।