|  

छाउगोठ घटनाबारे १ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छः गृहमन्त्री लामिछाने

१० असार, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छाउपडीसम्बन्धी अछाम घटनामा संलग्न एकजनालाई पक्राउ गरि अनुसन्धान भइरहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा अछामको छाउपडी गोठमा घटेको घटनाका सम्बन्धमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन । उनले  यस घटनामा संलग्न एकजनालाई पक्राउ गरिएको र निजलाई म्याद थप गरी थुनामा राखी अनुसन्धान भइरहेको बताए । पीडित र पीडक पक्ष दुवैको बयान अनुसार घटनामा एकजनाको मात्र संलग्नता रहेको खुल्न आएको जानकारी दिए । 

यही असार ४ गतेका दिन बिहान ९ बजेको समयमा अछाम पञ्चदेवल विनायक नगरपालिका–२ बस्ने वर्ष १६ वर्षीया बालिका छाउगोठ नजिकै बेहोस अवस्थामा फेला परेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन अछाममा ल्याई अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । 

‘सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको कमान्डमा अनुसन्धानमा सहयोग गर्न प्रहरी टोली परिचालन गरिएको छ’, उनले भने, ‘उक्त टोलीले आफ्नो अनुसन्धान पूरा गरी प्रतिवेदनसमेत जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।’ 

उनले मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३) ले रजस्वला वा सुत्केरी अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको र यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको बताए । 

‘छाउपडी प्रथा गरिबी, विभेद, विकटतालगायत कैयौँ समाजिक परिवेशसँग जोडिएको विषय भएको र यसको नियन्त्रणका लागि सरकारले छाउपडी प्रथाका अभ्यासलाई अपराधीकरण गरी दण्डनीय बनाएको भए तापनि कानुनी प्रतिबन्धले मात्रै छाउपडी प्रथा नियन्त्रण गर्न नसक्ने अवस्था रहेको हुँदा समुदायलाई साथ लिई स्थानीय प्रशासन, स्थानीय सरकार, नागरिक समाज, धार्मिक, सांस्कृतिक सङ्घ, संस्थाहरु र आमसञ्चारमाध्यमलगायतको बहुपक्षीय प्रयास आवश्यक देखिएको छ’, उनले भने ।