१२ असार, काठमाडौं । कैलालीको केही पालिकामा कार्यरत स्वास्थ्यकर्मीले नौ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।
दरबन्दीभन्दा बाहेकमा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका हुन् । जानकी गाउँपालिकामा कार्यरत २० जना स्वास्थ्यकर्मी दरबन्दीभन्दा बढी कार्यरत रहेको र ती कर्मचारीका लागि सङ्घीय सरकारबाट उपलब्ध गराउनुपर्ने तलब भत्तावापतको रकम नआएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्यका कर्मचारीका लागि गाउँपालिकामा १ करोड १४ लाख रकम मात्रै आएको जनाउँदै स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले कर्मचारीको तलबभत्ताका लागि ३ करोड ४२ लाख आवश्यक पर्ने बताए ।
गत वर्ष पनि गाउँपालिकामा २ महिनाका लागि कर्मचारीको तलब अपुग भएको थियो । यो रकम पछि माग गर्दा असारमा आएको थियो । आउँदो आवका लागि पनि तलबभत्ता कम आएको स्वास्थ्य शाखा चौधरी बताए । केही पालिकाले आफ्नो स्रोतबाट अपुग तलबभत्ता व्यवस्थापन गरेको पनि पाइएको छ ।