|  

कंगनाले तत्काल फिल्म इन्डस्ट्री नछाड्ने

१३ असार, काठमाडौं । बलिउडकी अभिनेत्री तथा सांसद कंगना रनौतले फिल्म इन्डस्ट्री नछाड्ने बताएकी छन् ।

भर्खरै लोकसभा सदस्यको शपथ लिएकी उनले चुनावअघि चुनाव जिते फिल्म इन्डस्ट्री छाड्ने बताएकी थिइन् । तर अहिले चुनाव जितेर सांसद नै बनिसकेपछि भने उनले आफ्नो फिल्मी इनिङ्स जारी राख्ने देखिएको छ । कंगनाको आगामी रिलिज ‘इमर्जेन्सी’ हो । यो फिल्म यसअघि कार्तिक आर्यनको ‘चन्दु च्याम्पियन’सँगै रिलिज हुने तय भएको थियो । तर चुनावका लागि फिल्मको रिलिज डेट पछाडि सारियो । चलचित्र छिट्टै रिलिज गर्ने तयारी भइरहेको छ । संसद्को अधिवेशन सकिएपछि फिल्म रिलिजको तस्बिर स्पष्ट हुने कंगना निटक स्रोतले बताएको भारतीय मिडियाहरुले खबर लेखेका छन् ।

अब फिल्म सेप्टेम्बर ६ मा रिलिज हुने बताइएको छ । राजनीतिमा आफ्नो पहिलो पारीसँगै कंगनाले आफ्नो फिल्मी यात्रालाई पनि निरन्तरता दिनेछिन् । अर्को फिल्मको घोषणा छिटै हुन सक्ने बताइएको छ । कंगनाको हातमा यतिबेला आनन्द एल राईको तनु वेड्स मनु ३ र आलौकिक देसाईको पौराणिक नाटक सीता–द इन्कारनेसनजस्ता फिल्म रहेको चर्चा छ । तर यसबारे कुनै अपडेट आएको छैन ।