|  

संसद पुनःस्थापना भएपनि ६ महिनामा चुनाव  

काठमाडौं । कांग्रेस नेता डा. मिनेन्द्र रिजालले संसद पुनःस्थापना भएपनि ६ महिनाभित्रै प्रतिनिधिसभाको चुनाव हुनसक्ने बताएका छन् । काठमाडौंमा आयोजित ‘वर्तमानको चुनौती, अवसर र कांग्रेसको भूमिका’ विषय कार्यक्रममा नेता रिजालले संसद पुनस्थापना गरेर संविधान ‘ट्रयाक’मा ल्याई प्रतिनिधिसभा निर्वाचन गर्नु बुद्धिमानी हुने धारणा बताएका हुन् । 

प्रतिनिधिसभा व्यूँताउनुको प्रयोजन खाली संविधानको रक्षाका लागि मात्रै भएको धारणा राख्दै नेता रिजालले पुनःस्थापित संसदले मुलुकको भार बोक्न नसक्ने निश्चित भइसकेकाले चुनावको विकल्प नभएको तर्क गरे । 

उनले भने, ‘संसद पुनःस्थापना भएपछि ६ महिनाभित्र चुनाव गराउने गरी नयाँ चुनावी सरकार बनाउन सकिन्छ ।’ संसद विघटन नेकपाको आन्तरिक बेमेलको परिणाम भन्दै नेता रिजालले यसै विषयलाई लिएर कांग्रेसभित्र विवाद लम्ब्याउन जरुरी नभएको बताए ।

नेता रिजालले अगाडि भने, ‘शेरबहादुर दाईले निर्वाचन भन्नुभएको छ । रामचन्द्र दाईले संसद पुनःस्थापना भन्नुभएको छ । पुनःस्थापना गरेर संविधानलाई मूलधारमा ल्याएर निर्वाचनमा जाँदा दुवै नेताको एजेण्डा सफल हुन्छ । यसरी विभाजित भएर हुँदैन ।’