|  

टी-२० विश्वकपः दोस्रो सेमिफाइनलमा भारत र इङ्गल्यान्ड भिडदै

१३ असार, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज राति भारत र साविक विजेता इङ्गल्यान्ड खेल्दैछन् ।

यो खेल राति सवा ८ बजे वेस्ट इन्डिजको गायनामा शुरु हुनेछ । भारत सुपर-आठको समूह ‘एक’ बाट शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो । भारतले सुपर-आठको पहिलो खेलमा अफगानिस्तानलाई ४७ रन, दोस्रो खेलमा बङ्गलादेशलाई ५० रन र तेस्रो खेलमा अस्ट्रेलियालाई २४ रनले हराउँदै अन्तिम चारमा पुगेको हो ।

यस्तै इङ्गल्यान्ड सुपर-आठको समूह ‘दुई’ बाट दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो । इङ्गल्यान्डले सुपर-आठको पहिलो खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा दक्षिण अफ्रिकासँग ७ रनले पराजित भएको इङ्गल्यान्डले तेस्रो खेलमा अमेरिकालाई १० विकेटले हराएको थियो । आईसीसीको नियमअनुसार सेमिफाइनल खेल रद्द भएमा सुपर-आठ मा शीर्ष स्थानमा रहने टिम सिधै फाइनलमा पुग्नेछ । भारत सुपर-आठ समूह ‘एक’ को शीर्ष स्थानमा रहेको थियो भने इङ्गल्यान्ड सुपर-आठ समूह ‘दुई’ को दोस्रो स्थानमा रहेको थियो ।

यसैबीच आज बिहान भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक टी-२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । फाइनल खेल पर्सि शनिवार राति सवा ८ बजे वेस्ट इन्डिजको ब्रिजटाउनमा हुनेछ ।