|  

२ हजार ३३६ विदेशीलाई नेपालमा काम गर्न अनुमति

१४ असार,काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८० / ८१ को ११ महिनामा २ हजार ३३६ विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रम स्वीकृति) दिएको छ ।

श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले पाँच प्रतिशत मात्र विदेशी श्रमिक राख्न सकिने प्रावधान छ ।  नेपालमा खासगरी विदेशी लगानीमा निर्माण भइरहेका ठुला आयोजना तथा परियोजनामा काम गर्न विदेशी आउने गरेका छन् । रोजगारीका लागि दैनिक औसतमा दुई हजार जनशक्ति विदेश गइरहेको अवस्थामा सरकारले उच्च दक्ष जनशक्ति नपाउँदा विदेशी नागरिकलाई काम गर्ने अनुमति दिँदै आएको छ ।

श्रम स्वीकृति लिएर नेपाल आउने विदेशीमध्ये चिनियाँ नागरिकको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चिनियाँ नागरिकको सङ्ख्या धेरै देखाएको हो । नेपालमा रोजगारीका लागि ६९ देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँ छन् ।