|  

धान उत्पादन बढेकै वर्ष चामल आयातमा अचाक्ली, भटमासको तेल भने असाध्य विक्यो

काठमाडौं । मल अभावले किसान पिल्सिएकै वर्ष धान उत्पादन बढेको तथ्यांक विभागीय मन्त्रालयले दियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गएको पुसमा सार्वजनिक गरेको तथ्यांक अनुसार, यो वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान फल्यो । जुन्, अघिल्लो वर्षभन्दा ७० हजार ८३१ टन बढी हो । यो वर्षको धान उत्पादन अहिलेसम्मकै उच्च हो भन्छ, कृषि मन्त्रालय । 

तर, यो वर्ष धान धेरै फलेको भनिरहँदा विदेशबाट आयात हुने धान–चामलको परिमाण भने घटेन । उल्टै धान–चामलको आयात चुलिएको देखिन्छ । यो आर्थिक वर्षको माघसम्म ३० अर्ब ७० करोड बराबरको धान–चामल आयात भएको छ, जुन अघिल्लो वर्षको यसै  अवधिको तुलनामा ६१ प्रतिशत बढी हो । पोहोर साल माघ महिनासम्म १९ अर्ब ५ करोडको मात्रै धान–चामल आयात भएको थियो । 

पछिल्ला वर्ष धान चामलको आयात उल्लेख्य मात्रामा बढिरहेको छ । यो वर्ष पनि त्यो निरन्तरता घटेन उल्टै बढ्यो । गएको आर्थिक वर्ष २०७६–७७ मा मात्रै ३३ अर्ब ६५ करोड मूल्यको धान–चामल आयात भएको थियो । भन्सार विभागको तथ्यांक अनुसार, माघसम्म १ खर्ब ७३ अर्ब बराबरको कृषि वस्तु आयात भएको छ । तर, कृषि वस्तुको निर्यात करीब ३७ अर्बको मात्रै छ ।

विभागका अनुसार ४९ अर्बको अन्न, २२ अर्ब ४० करोडको तरकारी, १० अर्ब १५ करोडको फलफूल र काजु–बदाम आयात भएको छ । धान–चामलको आयात बढ्नुमा नेपालमा ‘भाते कल्चर’ अर्थात् भातै–भात खाने संस्कार वृद्धि हुनु पनि एउटा कारण भन्दछन्, धान विज्ञ भोलामान बस्नेत । उनका अनुसार भाते संस्कार फेरिएन भने स्वदेशमा जतिनै धान उत्पादन भए पनि आयात घट्दैन ।

धान पनि बर्खे धानको हिस्सा मात्रै नेपालमा बढी भएका कारण पनि धान–चामल आयात नरोकिएको उनको तर्क छ । उनी भन्छन्, ‘चैते धानको हिस्सा बढेको छैन । जुन बेला हामीलाई धान–चामल चाहिन्छ त्यो बेला हामीसँग धान हुँदैन । बर्खे धानको मात्रै भर पर्दा यस्तो अवस्था आएको हुन सक्छ ।’ अर्कोतिर नेपालको तराई क्षेत्रबाट चोरबाटो हुँदै धान निकासी हुने भएका कारण पनि आयातको हिस्सा बढेको हुनसक्ने तर्क जानकारहरु गर्दछन् । 

निर्यातमा भटमासको तेल अघि  
यो आर्थिक वर्षको माघ महिनासम्म नेपालले निर्यात गरेको वस्तुमध्ये सबैभन्दा धेरै भटमासको तेल देखिन्छ । माघसम्म १९ अर्ब ५९ करोडको भटमासको तेल निर्यात गरेको तथ्यांक छ । भटमासको व्यावसायिक खेती नहुने नेपालले यो परिमाणमा तेल निर्यात गर्न सम्भव थिएन । तेस्रो मुलुकबाट भटमासको तेल भित्र्याउँदै निर्यात गर्ने खेलका कारण नेपालले भटमासको तेल निर्यात गरेको तथ्यांकमा देखिएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार, माघसम्म नेपालले २० अर्ब १ करोडको भटमासको तेल आयात गरेको छ । अर्थात, विदेशबाट आयात गर्दै फेरि निर्यात गरी नाफा कमाउने धन्दाका कारण यो सम्भव भएको भनिँदै छ । पोहोर साल खाडी मुलुकबाट पाम आयात गरेर प्रशोधन गरिएको तेल बढी निर्यात भएको देखिएको थियो भने, पछि भारतले प्रतिबन्ध लगाइदिएपछि प्रशोधन गर्ने उद्योग खुम्चिनु परेको थियो ।