|  

शिक्षाको सुधार गर्ने हो भने गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्नुपर्छः चौधरी

१४ असार,काठमाडौं ।  प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले शिक्षाको सुधार गर्ने हो भने गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै चौधरीले संसद्‌मार्फत सरकारलाई यस्तो ध्यानाकर्षण गराएका हुन् । 
उनले २०८० सालको एसईई नतिजा सार्वजनिक हुँदा ४८ प्रतिशत एसईई पास भए पनि बढी सङ्ख्या अर्थात ५२ प्रतिशत फेल भएर एनजी आएको बताए । ‘‘अहिले ५२ प्रतिशत विद्यार्थीको एनजी आएको अवस्थामा एक लाख ७७ हजार विद्यार्थी गणित विषयमा मात्र फेल भएका छन् ।

उनले नेपालका धेरैजसो स्कुलले गणित र विज्ञान शिक्षक नै पाउन छोडेको भन्दै शिक्षाको सुधार नै गर्ने हो भने ती विषयका शिक्षकहरूलाई सरकारले विशेष व्यवस्था गर्नुपर्ने बताए । ‘नेपालका धेरैजसो स्कुलले गणित, विज्ञान र अङ्ग्रेजी शिक्षक नै पाउन छोडेका छन् । साँच्चै शिक्षा सुधार गर्ने हो भने गणित, अङ्ग्रेजी र विज्ञान शिक्षकलाई विशेष व्यवस्था गर्न म जोडदार माग गर्दछु’, उनले भने । ’