१४ असार,काठमाडौं । नेपाली बजारमा ‘सोकन ईसी ३६’ मोडेलको विद्युतीय भ्यान सार्वजनिक भएको छ ।
नेपालका लागि सोकनको आधिकारिक वितरक डीएफएसकेले मङ्गलबार यो भ्यान सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यसमा ६० किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिनक्रोनस मोटर राखिएको छ, जसले २०० एनएमसम्म टर्क प्रदान गर्न सक्छ । ४२ किलोवाट आवर क्षमताको ब्याट्री भएको भ्यानले एक पटकको चार्जमा ३०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
यसको लम्बाइ ४५०० एमएम, चौडाइ १६८० एमएम र उचाइ २००० एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १८८ एमएम रहेको बताइएको छ । ११ ओटा सिट भएको यो विद्युतीय भ्यानले बढीमा १०० किलोमिटर प्रति घण्टाको स्पिड पकड्ने कम्पनीले जनाएको छ । नेपाली बजारमा यो विद्युतीय भ्यानको मूल्य ४५ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।