|  

एमाले-कांग्रेसका कारण नगरसभा बैठक स्थगित भएको बालेनको आरोप

१४ असार, काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले कांग्रेस-एमालेले बैठक रोकेको आरोप लगाएका छन् ।

बालेनले फेसबुकमा स्टाटस लेख्दै कांग्रेस-एमालेले बैठक रोकेको आरोप लगाएका छन् । उनले भनेका छन, ‘एमाले-कांग्रेसले बीपि कोइराला, मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम गरौं भन्नुभयो । मैले चार स्वतन्त्र सेनानी शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको नाममा गरौं भनें ।  सायद कांग्रेस-एमालेलाई नेपालको क्रान्तिमा उहाँहरुभन्दा धेरै कांग्रेस-एमालेका नेताहरूको योगदान धेरै देख्नुभयो होला । त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो ।’

काठमाडौं महानगरपालिकाको नगरसभा बैठक स्थगित गरिएको छ । पार्टीका जनप्रतिनिधिहरु र मेयरबीच विवाद भएपछि सूचना निकालेर बैठक स्थगित गरिएको हो । महानगरपालिका मेयर बालेन्द्र शाहले आज नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न नगरसभा बैठक बोलाएका थिए । गत सोमबारको नगरसभा बैठकमा चार दलका जनप्रतिनिधिले नीति तथा कार्यक्रममा साझा संशोधन हाले पनि त्यसलाई बालेनले स्वीकार गरेका थिएनन् । नीति तथा कार्यक्रम पारित नगरिकन बजेट प्रस्तुत गरिएको थियो । आजको बैठकमा यसैलाई लिएर विवाद भएको बुझिएको छ ।