|  

रामेछापमा बस दुर्घटना: ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर   

१४ असार, काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिका-६ खिम्तीको बिर्ता लामपानीमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन् ।

सोही वडाको गैरी हुँदै मन्थलीतर्फ आउँदै गरेको बा ५ ख ५६२४ अरनिको यातायात प्रालिको बस हिलोमा चिप्लिएर दुर्घटना भएको र घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा घाइते भएकालाई खिम्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र मन्थली अस्पतालमा उपचार भइरहेको र गम्भीर भएकालाई काठमाडौँ ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले बताए ।

बसमा २५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि चालकलाई नियन्त्रणमा लिइएको छ ।