|  

५२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको सरकार फेल हुनु हो : प्रदीप पौडेल

१४ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एसइईमा ५२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको सरकार नै फेल भएको  बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद पौडेलले सरकारको असफलता एसइई नतिजामा देखिएको बताएका हुन् । 

उनले भने- 'पास फेल प्रणाली अन्त्य गरेर सबैलाई ग्रेडिङ सिस्टमभित्र पास फेल गर्ने प्रणाली सुरू गरियो । केही वर्ष अभ्यास गरे पनि शिक्षाको गुणस्तर कायम गर्न सकेन । यो वर्षदेखि ग्रेडिङ नन् ग्रेडिङ भनेर हामीले बुझ्ने भाषामा पास फेल प्रणाली विकास गरियो । यो प्रणालीमा ५२ प्रतिशत विद्यार्थी ग्रेडिङ भित्र परेनन् ।  ५२ प्रतिशत विद्यार्थी फेल भए यी विद्यार्थी फेल भएको कि सरकार फेल भएको हो ?'

उनले सरकालाई दुई लाख ८२ हजार ३१३ विद्यार्थीलाई अयोग्य घोषण गर्ने सरकारलाई अधिकार नभएको जिकिर गरे ।