|  

सांसद बस्नेतको शब्दलाई लिएर एमाले सांसद थपलियाले जनाइन नियमापत्ति 

१४ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहन बस्नेतको अभिब्यक्तिप्रति नेकपा एमालेकी सांसद सम्झना थपलियाले नियमापत्ति जनाएकी छन् ।

आज बसेको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा सांसद बस्नेतले आफूलाई टेरामक्समा जोडेर सबै सांसदहरुले प्रश्न गरेको बताए । त्यसक्रममा उनले कलिला र ओठ निचोर्दा दूध आउने माननीयज्यूहरु’ भन्दै भनेका छन्, ‘मलाई पनि टेरामक्सको कुरालाई लिएर बेला बेलामा, हुन त यसका बारेमा तीन जना सांसदहरुको नाम मुछिएको छ । यसका बारेमा बेला बेलामा कुरा उठाउने गरेको छ । एकदम कलिला कलिला ओठ निचोर्दा दूध आउने माननीयज्यूहरुदेखि लिएर दाह्रीजुँगा फूलेका माननीय ज्युहरुसम्मले यो कुरा उठाइरहनुभएको छ । उचित दिन आएछ भने म यसको जवाफ दिनेछु ।’

त्यसपछि सांसद बस्नेतको शब्दलाई लिएर नेकपा एमालेकी सांसद सम्झना थपलियाले नियमापत्ति गरिन् । उनले भनिन्,‘ओठ निचोर्ने माननीय, कलिलो र छिपिएको माननीय भन्ने हुँदेन । त्यसकारणले यो असंसदीय भाषा भयो यो फिर्ता लिनुपर्छ ।’ त्यसपछि सभामुख देवराज घिमिरेले ‘के भएको रहेछ हेरेर निर्णय गर्छौं’ भनेका छन् ।