|  

चुरे क्षेत्रको संरक्षण आवश्यक छः सांसद झा

१४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले चुरेलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गरेका छन् ।

आज प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले यस्तो बताएका हुन् । उनले नेपालमा २० वटा संरक्षित क्षेत्र रहे पनि मधेश प्रदेशमा भने पूर्णरुपमा एउटा पनि संरक्षित क्षेत्र नरहेको बताए । नेपालमा पाइने १ हजार ९ सय १८ जीवजन्तुमध्ये १ हजार ३०८ प्रजाति चुरे र तराई क्षेत्रमा नै पाइने उनले बताए ।

त्यस्तै नेपालमा पाइने संकटापन्न ४ सय ९३ प्रजातिमध्ये ३ सय १९ प्रजाती यही क्षेत्रमा पाइने भएकाले चुरे संरक्षित क्षेत्र घोषणा गर्नु आवश्यक रहेको बताए । झाले चुरे दोहनका कारण पानीको सतह पनि तल झरिरहेको भन्दै चुरे क्षेत्रले भूमिगत जलभण्डारको काम गर्ने भएकाले संरक्षण गर्नुपर्नेमा जोड दिए ।