|  

धान रोप्न चितवन जाँदै प्रधानमन्त्री प्रचण्ड

१४ असार, काठमाडौं । आधुनिक प्रविधिबाट धान खेती गर्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन जादै छन् । प्रधानमन्त्री  आफै उपस्थित भएर मेसिनबाट धान रोपेर राष्ट्रिय धान दिवस मनाउन लागिएको हो ।

सरकारले हरेक वर्ष असार १५ मा मनाउने राष्ट्रिय धान दिवस यसवर्ष चितवनमा मेसिनबाट एक हेक्टर जमिनमा खेत रोपेर मनाउन लागिएको हो ।

जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ मनाउन लागिएको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ चितवनको बछौलीमा आयोजना हुँदैछ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ चितवनले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा राष्ट्रिय धान दिवस मनाउन लागेको जनाकारी दिइएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नेतृत्वमा चितवनको रत्ननगर नगरपालिका ६, बछौलीमा रहेको बछुली बहुउद्देश्य कृषक समूहको खेतमा मेसिनको प्रयोग गरी धान रोपेर धान दिवस मनाइने जनाइएको छ ।