|  

बुढी गण्डकीको काम अघि बढाउन डा. बाबुरामले प्रधानमन्त्रीलाई बुझाए मागपत्र 

१४ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन माग गर्दै सरकारलाई मागपत्र बुझाएका छन् ।

सरकारले जलाशययुक्त आयोजनाको रूपमा निर्माण गर्न खोजेकोमा डा. भट्टराईले बहुउद्देश्यीय आयोजनाको रूपमा सञ्चालन गर्नुपर्ने माग राखेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई माग पत्र बुझाउन डा. भट्टराई पार्टीका नेता र गोरखाका सांसदहरूसहित सिंहदरवार पुगेका थिए ।

सो टोलीमा सहभागी नेसपा नेता मानुषी यमी भट्टराईले बुढीगण्डकी बहुउद्देश्यीय आयोजनाको काम भदौ मसान्तभित्र सुरु गर्न सरकारलाई अल्टिमेटम दिइएको जानकारी दिइन् । काम सुरु नभए सशक्त आन्दोलन गर्ने जानकारी पनि प्रधानमन्त्री ‘प्रचण्ड’लाई गराइएको उनले बताइन् । ‘भदौ पछि पनि यसलाई सरकारले गम्भीरतापूर्वक नलिइएमा आन्दोलनकै रूपमा जाने चेतावनी दिएका छौँ,’ मानुषीले भनिन् ।

उनका अनुसार बुढीगण्डकी आयोजनामा सरकारको खर्च बढेको बढ्यै भए पनि प्रगति एकदमै न्यून छ । त्यसैले यसलाई तत्काल काम अघि नबढाए आयोजना ‘कोल्याप्स’ हुने खतरा रहेको उनले बताइन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’लाई मागपत्र बुझाउनु अघि डा. भट्टराईले गोरखाका नेता, सांसद र स्थानीयसँग पनि यसबारे छलफल गरेका थिए ।