|  

ताप्लेजुङ पहिरोमा परी घाइते भएकालाई सेनाको हेलिकप्टरमार्फत उद्धार 

१६ असार, काठमाडौं । ताप्लेजुङ पहिरोमा परेर घाइते भएका सिरिजङ्घा गाउँपालिका-६ मामाखेका ६३ वर्षीय पदमबहादुर लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

वडा कार्यालयले वितरण गरेको राहत सामाग्री बुझेर घर फर्किने क्रममा माथिबाट झरेको पहिरोमा परेर उनी गम्भिर घाइते भएका थिए । उनलाई माथिबाट झरेको पहिरोले बगाएको थियो । पहिरोले करिब १५ मिटर तल बगाएर हाङ्खोलामा पुगेका लिम्बूको टाउकोमा गम्भीर चोट लागेको थियो । नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नोवेल अस्पताल विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लिम्बूलाई गाउँलेले उद्धार गरेर स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गराएका थिए । गत जेठ ३२ देखि असार ४ गतेसम्मको पहिरोले मामाखेमा धेरै क्षति पुगेको छ ।