|  

संसद बैठकमै माननीयज्यूहरू घुर्दै निदाउनु हुन्छः उपसभामुख राना

१६ असार, काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसद बैठकमा सांसदहरू निदाउने गरेको भन्दै आपत्ति जनाएकी छन् ।

आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रानाले संसद बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको आफूले देखेको बताइन् ।

संसदमा फोटो खिच्न आफूले नपाउने भएपनि संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरु निदाएको भन्दै फोटो र भिडिओ खिचेर राखेको उनले बताइन् ।

उपसभामुख रानाले भनिन्, ‘संसदमा फोटो खिच्न मिल्दैन, घ्वाँरघ्वाँर सुतिरहेको हुनुहुन्छ माननीयज्यूहरू । यहाँ पनि धेरै सुतेको देखेँ । अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाहीँ हामी सभामा नबसौँ । जाग जाग नेपाली भन्न मन लाग्यो मलाई । सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस् ।

उठेर हेर्नुस् त कति सुन्दर छ । यी अनुहारहरु फेरि एकछिनमा हामी देख्न पाउँदैनौँ । यी आवाजहरु एकछिनमामा हामी सुन्न पाउँदैनौँ । कति बेला हिँड्दा हिँड्दा यि आवाजहरु बन्द हुन्छन् थाहा हुँदैन । हामी लोकतन्त्र र प्रजातन्त्रको कुरा गर्छौं ।’