|  

आशा गरेका नेताहरुले नै देशको अर्थतन्त्रमा लुटपाट मच्चाइरहेका छन्ः विप्लव

१६ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भ्रष्टाचारको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

आज एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीति परिवर्तनपछि पनि नेता र तीनका सन्तान भ्रष्टाचारमा संलग्न रहेको कुरा सुनिरहनुपरेको बताए । उनले राजनीति कार्यकर्ता श्रमजीवी यन्त्रमा नभई भ्रष्टाचार गर्ने निकायमा बदलिरहेको टिप्पणी गर्दै जनताले आशा गरेका नेताहरूले देशको अर्थतन्त्रमा लुटपाट मच्चाइरहेको आरोप लगाए । उनले भ्रष्टाचारको अन्त्य गरी उत्पीडित, श्रमजीवी जनताहरूको पक्षमा सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए । हरेक परिवर्तनपछि नेपालको राजनीति यथास्थितिमा बदलिएको भन्दै उनले नेताहरूले काम गर्न सकेन भने त्यसलाई जनताले फाल्ने परिस्थिति आउने बताए । उनले नेपाल सिद्धियो भन्ने कुरा साम्राज्यवादीले फैलाएको हल्ला भएको पनि बताए ।

साथै अहिलेको व्यवस्थाबाट समाजवाद नआउने भन्दै उनले कांग्रेस र रास्वपाले चाहेको समाजवाद के हो भन्दै प्रश्न पनि गरे । नेपाली कम्युनिस्ट आन्दोलनलाई अहिलेको अवस्थासम्म ल्याउन एकीकृत समाजवादीको महत्त्वपूर्ण भूमिका रहेकाले महाधिवेशनपछि सुस्पष्ट समाजवादी नीति तथा कार्यक्रम आउनेमा उनले विश्वास व्यक्त गरे ।