|  

संविधान निर्माणमा माधवजीको महत्वपूर्ण भूमिका छ : देउवा

१६ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा शान्ति स्थापना गर्न र संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

एकीकृत समाजवादीको १० औं महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार प्रज्ञा भवनमा सम्बोधन गर्दै उनले पूर्वप्रधानमन्त्री नेपालको भूमिका नेपाली राजनीतिको रक्षाका लागि महत्वपूर्ण रहेको बताएका हुन् ।

उनले भने, ‘नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण यसै संविधान मार्फत् मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्नको लागि महत्वपूर्ण एजेण्डा हुन् । यो व्यवस्थाप्रति नेकपा एसले महत्वपूर्ण भूमिका खेलेको छ ।’

उनले एकीकृत समाजवादीको महाधिवेशन सफलताको कामनासमेत गरे । ‘म यहाँहरूको महाधिवेशन सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु,’ सभापति देउवाले भने ।