|  

भन्सार दर धेरै हेरफेर गरिएको छैनः अर्थमन्त्री पुन

१६ असार, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नीतिगत निरन्तरताका लागि भन्सार महसुल दरमा सामान्य हेरफेर गरिएको जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले यस्तो बताएका हुन् । उनले आर्थिक विधेयकको अभिन्न अङ्गका रूपमा भन्सार महसुलसम्बन्धी व्यवस्थित कानुन ल्याउन गरिएको सुझाव कार्यान्वयनका लागि बेग्लै विधेयक ल्याएको स्पष्ट गरे । मन्त्री पुनले भन्सार विन्दुमा सामान आयात गर्दा न्यूनतम भन्सार लिने र क्रमशः मुलुकको उत्पादन वृद्धि गरी आत्मनिर्भर हुने अवस्थामा जाने सिद्धान्तका आधारमा विधेयक ल्याइएको बताए  ।
छलफलमा सांसद राजेन्द्रकुमार केसीले खाद्यान्न र फलफूलमा महँगो भन्सार शुल्क नलगाउन आग्रह गरेका थिए । विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए  ।