|  

प्रतीक थापालाई भोलि अदालत पेश गरिने

१६ असार, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई सोमबार अदालत पेश गरिने भएको छ ।

शुक्रबार राति पक्राउ परेका थापालाई नक्कली भुटानी शरणार्थीसम्बन्धी ठगी मुद्दामा सुनुवाइका लागि जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो ।

तर उक्त मुद्दामा आइतबार सुनुवाइ नै भएन । आइतबार पालो नआएको भन्दै पुनः सोमबार ल्याउन अदालतले आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा थापाविरुद्ध प्रहरीले यसअघि नै अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरेको छ । १० जेठ २०८० मा मुद्दा दायर भएका ३० प्रतिवादीमध्ये थापासहित केही व्यक्ति फरार थिए ।

प्रतीकलाई प्रहरीको विशेष टोलीले शुक्रबार साँझ बौद्धबाट पक्राउ गरेको थियो ।