|  

एसईईको पूरक परीक्षा २३ साउनदेखि

१६ असार, काठमाडौँ ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षा २३ साउनदेखि सुरु हुने भएको छ।

आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको बैठकले २३ साउनबाट पूरक परीक्षा गर्ने निर्णय गरेको हो।

यसअघि दुई विषयमा नन ग्रेडेड (अनुत्तीर्ण) विद्यार्थीका लागि बोर्डले १८ र १९ साउनमा परीक्षा गर्ने सूचना जारी गरेको थियो। तर मन्त्रालयले शुक्रबार दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई परीक्षामा सहभागी गराउने निर्णय गरेपछि परीक्षा मिति पछि सरेको हो।

अहिले पास भएका र पुरक परीक्षा दिने विद्यार्थीको पढाइमा ‘ग्याप’ कम गर्नका लागि असोजको पहिलो हप्ताभित्र नतिजा सार्वजनिक गर्ने मन्त्रालयले जनाएको छ। बिहीबार प्रकाशित एसईईको नतिजाअनुसार २ लाख ४२ हजार ३१३ विद्यार्थी नन ग्रेडेड भएका छन्।