|  

उपेन्द्र द्विवेदीले सम्हाले भारतीय सेना प्रमुखको जिम्मेवारी

१६ असार, काठमाडौँ ।  भारतीय सेना प्रमुख जनरल मनोज पांडेले आइतबार अवकाश पाएपछि उपेन्द्र द्विवेदीले भारतीय सेना प्रमुखको जिम्मेवारी सम्हालेका छन् । जनरल द्विवेदी भारतको ३०औँ सेना प्रमुख भएका छन् ।

अवकाश पाएका जनरल मनोज पांडेले ३० अप्रिल २०२२ बाट भारतीय सेनाको सर्वोच्च पद ‘चिफ अफ आर्मी स्टाफ’को जिम्मेवारी सम्हाल्दै आएका थिए ।  जनरल द्विवेदीसँग चीन र पाकिस्तानसँगको सीमामा भएका विशेष अपरेसनको राम्रो अनुभव छ । 

आइतबार सेना प्रमुख हुनुअघि उनी भारतीय सेनामा भाइस चिफ अफ आर्मी स्टाफका रूपमा कार्यरत थिए ।

गत महिना भारत सरकारले जनरल पांडेको कार्यकाल एक महिना बढाएको थियो । समय थप नगरेको भए उनले मे ३१ मा अवकाश पाइसकेका हुन्थे । अवकाशमा जानु ६ दिन अगाडि उनको कार्यकाल एक महिना थपिएको थियो, जुन भारतमा एकदमै कम हुनेगर्छ ।

नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने अभ्यास छ ।