|  

प्रभासको कल्किले चार दिनमा कमायो ५०० करोड 

१७ असार, काठमाडौं ।  दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म कल्कि २८९८ एडीले राम्रो व्यापार गरिरहेको छ ।

जुन २७ मा रिलिज भएको यो फिल्मले विश्वभरबाट ५०० करोड भारु कमाएको छ । प्रभास र दीपिका पादुकोण, अमिताभ बच्चन, कमल हासन र दिशा पटानी अभिनित फिल्मले चौथो दिन ठुलो उपलब्धि हासिल गरेको छ । नाग अश्विनद्वारा निर्देशित यो फिल्म प्रतिष्ठित ५०० करोड क्लबमा पुगेको छ ।

कमाइको हिसाबले कल्कि २८९८ एडी सबैभन्दा धेरै कमाउने पाँचौँ तेलुगु फिल्म बनेको छ । यसअघि बाहुबली द कन्क्लुजन, आरआरआर, सालार पार्ट १ र बाहुबली द बिगिनिङले यो उपलब्धि हासिल गरेका थिए । सूचीमा प्रभासका चार ओटा फिल्म छन् । कल्की फिल्म पहिलो एक हप्तामै एक हजार करोड क्लबमा सामेल हुने अनुमान गरिएको छ ।