|  

ब्रेक सुमा ३२ क्विन्टल सुन तस्करी भइसकेको सीआइबीको निष्कर्ष

१७ असार, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय सामाग्री र ब्रेक सुमा लुकाई करिव ३२ क्वीन्टल सुन तस्कारी भएको निष्कर्ष निकालेको छ।

सुन तस्करीको दोश्रो चरणको अनुसन्धानका बिषयमा जानकारी दिन आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सीआईबीले विद्युतीय सामाग्री र ब्रेक सुमा लुकाई ३ हजार १ सय ९४ दशमलव ६६८ सुन तस्करी भएको जानकारी गराएको हो।

उक्त सुनको बजार मूल्य ३० अर्व ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँ रहेको छ। सीआईबीले भुजेल इलोक्ट्रोनिक सप्लायर्स, रेडी ट्रेडर्स लगायत पाँच सप्लायर्सहरुले उक्त परिमाणको सुन भित्राएको जनाएको छ। सीआईबीका डिएसपी सुन्दर तिवारीले दोश्रो चरणको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइएको जानकारी दिए।

यस क्रममा २० जनालाई पक्राउ गरिएको र २६ जना अझै फरार सूचीमा रहेको उनले बताए। यस्तै भुक्तानी सेवा प्रदायक पेवेल नेपाल प्रालि. र सजिलो पे पेमेन्ट सर्भिसेजले लाइसेन्सको दुरुपयोग गर्दै सुन तस्करीमा पटक–पटक गरी कूल ५५ अर्ब ७९ करोड ८८ लाख ८५ हजार ८ रुपैयाँ ५३ पैसा भुक्तानी सहजीकरण गरिरहेको भेटिएको डिएसपी तिवारीले जानकारी दिए।

त्यस्तै सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले भेपबाहेकको सुन तस्करीको अनुसन्धानका क्रममा पूर्वसभामुख कृष्णबहादुर महरा र दिपेश पुनको संलग्नता नदेखिएको बताए।

सिआइवीले भन्सार ऐन, संगठीत अपराध निवारण ऐन, मुलुकी अपराध संहिता, नागरिकता ऐन, राहदानी ऐन, नेपाल राष्ट्र बैंक ऐनलाई आधार बनाइ प्रतिवादीबाट २ खर्व ६६ अर्व ६७ करोड ९ लाख बिगो मागदावी गरेको छ।