|  

एमालेले कांग्रेससँग गरेको समझदारी ‘अस्वाभाविक’ भएको माओवादीको निष्कर्ष 

१८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले पछिल्लो राजनीतिक परिस्थितिको सामना गर्ने निर्णय गरेको छ ।

एमालेले समीकरण बदलेर कांग्रेससँग गरेको समझदारी ‘अस्वाभाविक’ भएको निष्कर्ष निकालेको माओवादीले पछिल्लो परिस्थितिको राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज बिहान पार्टीका पदाधिकारी र सरकारमा सहभागी मन्त्रीहरुसहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका थिए । बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले विकसित राजनीतिक परिस्थितिको सामना गर्ने बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोहोरो भूमिका खेलेको आरोप माओवादीको छ । प्रधानमन्त्री प्रचण्डसँग सोमबार लामो समय छलफल गर्दा एउटा कुरा र पछि कांग्रेससँग अर्को कुरा गरेको माओवादी केन्द्रको भनाइ छ । एमाले र कांग्रेसमात्र बसेर राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेर आह्वान गर्नु नै नमिल्दो कुरा भएको माओवादीको निष्कर्ष छ । संविधान संशोधन गर्ने भनेर कांग्रेस र एमालेले गरेको समझदारी व्यवस्था उल्ट्याउने षड्यन्त्र हुनसक्ने आशंका माओवादी केन्द्रलाई छ । राजनीतिक स्थायित्व खोज्ने नाममा व्यवस्थामाथि नै प्रश्न उठाइएको आशंका गर्दै सचिव पौडेलले भने, ‘संविधान संशोधनका जुन कुरा आएका छन् पछिल्ला परिवर्तनका विषय कतै उल्टिने त होइनन् ? कतै ०४७ को संविधान कतै व्युँताइँदै त छैन ? भन्ने गम्भीर प्रश्न उठेको छ ।’

उनले वर्तमान संविधानका उपलब्धिको रक्षामा सहमत दलहरुसँग छलफल गरेर अघि बढ्ने पनि बताए ।