|  

राति सुतेका दम्पती घरबाटै बेपत्ता, स्थानीयद्वारा सडक ठप्प पारी प्रदर्शन 

११ फागुन, काठमाडौं-महोत्तरीमा एक दम्पती बेपत्ता भएका छन् ।

राति घरमै सुतेका पिपरा ५ सहोडवाका ६५ वर्षीय मोसाफिर झा र ६० वर्षीया गीतादेवी मंगलबार बिहान बेपत्ता भएका हुन् । स्थानीयले दम्पतीलाई बेपत्ता परिएको भन्दै जलेश्वर जनकपुर सडक ठप्प पारेर प्रर्दशन गरेका छन् ।  

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने मागसहित उनीहरूले  जलेश्वर–जनकपुर सडकमा गाडी ठप्प पारेका हुन् । स्थानीयले राति अज्ञात समूह आएर दम्पतीलाई बेपत्ता पारेको बताएका छन् ।

दम्पती सुतेको ठाउँमा रगत पनि भेटिएकाले घटना शंकास्पद देखिएको र सत्यसत्य छानबीनको माग गर्दै प्रदर्शन गरिएको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार झा मोहीसम्बन्धी एउटा जग्गा विवादमा साक्षी बसिरहेका व्यक्ति हुन् । उक्त मुद्दा अदालतमा विचाराधीन छ । जग्गावालासँग झाको विवादसमेत भएको स्थानीयले बताएका छन् । 

उनीहरुको खोजी भइहेको र अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।