|  

भोलिसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

१८ असार, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले कांग्रेससँग सत्ता समीकरणको सहमति भएको भन्दै भोलिसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आग्रह गरेको छ ।

मंगलबार च्यासलमा बसेको सचिवालय बैठकले संविधानको धारा ७६(२) अनुसारको सरकार निर्माणको लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आह्वान गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले  जानकारी दिए ।

‘यो राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयोजनका लागि प्रधानमन्त्रीज्यूलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय भएको छ,’ उनले भने। 

त्यस्तै, नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने कुरालाई समर्थन गर्ने निर्णय पनि एमालेले गरेको छ। 

‘नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा हिजोमात्रै भएको समझदारी जुन छ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने कुरालाई समर्थन गर्ने,’ ज्ञवालीले भने। 


त्यसैगरी राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन सबै दलहरूलाई आह्वान गर्ने निर्णय पनि एमालेले गरेको छ।