|  

रास्वपाको केन्द्रीय समितिको बैठक लाइभ नगरेपछि मुकुल ढकालले गरे मुखमा टेप टाँसेर विरोध

१९ असार, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक लाइभ नगरेपछि महामन्त्री मुकुल ढकालले मुखमा टेप टाँसेर विरोध गरेका छन् ।

बिहान साढे ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको बैठकको लाइभ नगरेपछि महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर बैठकको विरोध गरेका हुन् । ‘बैठक लाइभ नगर्ने निर्णय गरिएकाले आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन् भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु,’ उनले भनेका छन्।

महामन्त्री ढकालले ३९ जिल्ला घुमेर पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए।ढकालले केही दिन अघिदेखि नै बैठक लाइभ गर्न माग गर्दै आइरहेका थिए । तर आजको बैठकमा लाइभ नगरेपछि उनले सांकेतिक रुपमा विरोध गरेका हुन् ।