|  

मलाई बैठकमा ह्यारेसमेन्ट भयो : महामन्त्री ढकाल

१९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले आफूलाई बैठकमा ह्यारेसमेन्ट गरिएको बताएका छन । जारी केन्द्रीय समिति बैठक नसकिँदै बाहिरिएका मुकुलले आफूलाई बैठकमा ह्यारेसमेन्ट गरिएको बताएका हुन । 

उनले भने, ‘महामन्त्रीलाई सबै दोष थोपर्न खोजिँदैछ । सभापति रवि लामिछाने गोर्खा मिडिया नेटवर्कमा महामन्त्री जस्तै पोजिसनमा हुनुहुन्थ्यो । त्यहाँ चाहिँ अध्यक्ष जिवी राईको सबै गल्ति भन्नुहुन्छ । पार्टी चाहीँ महामन्त्रीको सबै गल्ति देखाउनुहुन्छ । उहाँ जुन पदमा हुनुहुन्छ, त्यो पदले कहिले पनि गल्ति गर्दैन भनेजस्तो भयो ।’ ‘उहाँहरुले मलाई ह्यारेसमेन्ट गर्नुभयो । 

दुईजना उपसभापतिले आजबाट महामन्त्री मान्दैनौं भन्नुभयो । मैले बोल्दिनँ भन्दा बोल कि बोल भनियो । एउटा राजनीतिक प्राणीको रुपमा मैले विरोध जनाएको हो । बोल कि बोल भन्न पाईंदैन । राजनीतिक तरिकाले बुझ्नुपर्छ । एउटा व्यक्ति जसले गलत कुराको विरोध गर्यो, त्यसलाई कारवाहीको प्रक्रिया अगाडि बढाइन्छ भने अब पार्टी प्रतिपक्ष बन्दैछ, कुन नैतिकताका आधारमा सरकारको विरोध गर्छ ? कुन नैतिकताको आधारमा प्रतिपक्षमा बस्छ ? मलाई पार्टीको चिन्ता छ ।’