|  

चोर समाउन बाँके प्रहरीले चलायो तीन राउण्ड गोली

२० असार, काठमाडौं । गोली चलाएर बाँके प्रहरीले चोरी मुद्दामा ६ वर्ष सजायँ पाएका एक अभियुक्त पक्राउ गरेको छ ।

प्रहरीले आज बिहान जिल्लाको डुडुवा गाउँपालिका-६ शिखनपरुवामा गोली चलाएर अभियुक्त सरमानसिंह सरदारलाई पक्राउ गरेको हो । सरदारलाई बाँके जिल्ला अदालतको २०७० असार १८ गतेको फैसलालाले ६ वर्ष कैद र १२ हजार जरिवाना सजाय सुनाएको थियो । सरदारलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयवासीले प्रतिवाद गरेपछि प्रहरीले तीन राउण्ड गोली चलाएको छ।

स्थानीयले प्रहरीकै हतियार खोसेर आक्रमण गर्न थालेपछि गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । अभियुक्तलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हिरमिनियाको टोली बिहान साढे ८ बजे पुगेको थियो ।तर, स्थानीयले प्रहरीले पक्राउ गरिसकेपछि पनि सरदारलाई खोसेर फिर्ता ल्याएका थिए । त्यसपछि आधा घण्टा लगाएर ९ बजे उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

झडपका क्रममा एक जना प्रहरी कर्मचारीसहित तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय हिरमिनियाका प्रहरी वरिष्ठ हवल्दार मदन डाँगी घाइते भएका छन् । प्रहरीको गोली लागेर स्थानीय ३० वर्षीय नानक सिंह शिख घाइते भएका छन् भने पक्राउ परेका सरदारलाई पनि गोली लागेको छ । घाइते सबैको भेरी अस्पताल बाँकेमा उपचार भइरहेको छ ।