|  

दीर्घकालीन असर पर्ने काम नगर्न प्रचण्डलाई एमालेको ध्यानाकर्षण

२० असार, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन असर पर्ने कुनैपनि काम नगर्न र नगराउन ध्यानाकर्षण गराएको छ । 

एमाले महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गर्दै प्रचण्डको ध्यानाकर्षण गराएका हुन् । उनले संसद्का दुई ठुला दल एमाले र नेपाली कांग्रेसबिच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको स्मरण गराउँदै एमाले सरकारबाट समेत फिर्ता भएको अवस्थामा त्यस्ता निर्णय नगर्न आग्रह गरे ।

साथै विज्ञप्तिमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा समेत दिइसकेको अवस्थामा सरकार स्पष्ट अल्पमतमा परेको अवस्था रहेको पनि उल्लेख छ । एमाले र कांग्रेसबीच नयाँ सत्ता साझेदारी गर्ने समझदारी गरेपनि उक्त समझदारी गोप्य नै राखिएको छ ।