|  

बेनी-जोमसोम सडकखण्डमा राति यात्रा नगर्न प्रशासनको अपिल

२० असार, काठमाडौं । बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न अपिल गरिएको छ ।

वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो । राति यात्रा गर्दा बाढीपहिरोमा परिने र उद्धारमा समस्या हुने भएकाले यात्रा नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । सडकखण्डको म्याग्दी क्षेत्रमा जोखिमपूर्ण स्थानमा सूचनाबोर्ड राखिने उनले जानकारी दिए । सडकखण्ड अन्तर्गत म्याग्दी क्षेत्रमा करिब ६ स्थानमा सूचना बोर्ड राखिने छ भने उत्तरी म्याग्दी र मुस्ताङतर्फ साँझमा यात्रा गर्नेलाई पहिरोस्थलका बारेमा जानकारी दिने गरी बेनी, गलेश्वर, भुरूङ तातोपानी र दाना क्षेत्रमा प्रहरी खटाइने बताइएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा-बेनी-जोमसोम-कोरोला सडक आयोजनाको बेनी-लेतेसम्मको ३८ किलोमिटर सडक खण्डमा ३५ साना ठुला पहिरा छन् । तीमध्ये वैसरी पहिरो, सिरूवारी पहिरो, गुइँठे पहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ रहेका आयोजनाले जनाएको छ । गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रूप्सेछहरा र काप्रेभीर जोखिमपूर्ण पहिरोसहित सबै पहिरो व्यवस्थापनमा रू ७० करोडभन्दा बढी खर्च हुने बताइएको छ ।