|  

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी अल्पमतमा 

२० असार, काठमाडौं । नेकपा एकीकृत समाजवादी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

आज दिउँसो संसदीय दलको बैठकबाट समर्थन फिर्ता र मन्त्रीहरुको राजीनामा दिने निर्णय भएको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिएका छन् । केहीबेरमा पत्र बुझाउन मुख्यमन्त्री कार्यालय जाने तयारी गरिएको उनको भनाइ छ । एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् ।

एमालेबाट सोडारी सरकारमा तीन जना मन्त्री छन् । सुरेन्द्रबहादुर पाल आर्थिक मामिला, विरबहादुर थापा वन वातावरण तथा सहकारी र हीरा सार्की आन्तरिक मामिलामन्त्री छन् । उनीहरु मन्त्री नियुक्त भएको एक महिना पनि पुगेको छैन । जेठ २८ गते मन्त्री नियुक्त भएका उनीहरुमध्ये पाललाई मात्रै मन्त्रालय तोकिएको थियो । त्यसबेला बिनाविभागीय मन्त्री नियुक्त भएका थापा र सार्कीलाई असार १६ गते विभागीय जिम्मेवारी तोकिएको थियो । अर्थात् थापा र सार्की ४ दिनमात्रै विभागीय मन्त्री भएका छन् ।

एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (रञ्जिता श्रेष्ठ समूह) र एक जना स्वतन्त्र सांसदको समर्थनमा वैशाख ६ गते सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र १ जना स्वतन्त्र सांसदले जेठ ३ गते विश्वासको मत दिएका थिए ।