|  

दुई विद्यार्थीलाई दुई शिक्षक

२१ असार, काठमाडौं । बागलुङको जैमिनी नगरपालिका-८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा दुईजना छात्रमात्र अध्ययनरत रहेको पाइएको छ ।

उनीहरूमध्ये एकजनाले कक्षा १ र एकजनाले कक्षा ३ मा अध्ययन गर्छन् । कक्षा २ मा भने विद्यार्थी नै छैनन् । स्थानीयवासी सुविधाको खोजीमा अन्यत्र बसाइँ सरेपछि विद्यालयमा विद्यार्थी आउन छाडेका विद्यालयले जनाएको छ । विसं २०८० मा तीनजना हुँदै नयाँ शैक्षिकसत्रमा दुईजनामा सीमित भएको छ ।विसं २०४६ मा स्थापना भएर २०४७ सालमा अनुमति पाएको विद्यालयमा २०७८ सालसम्म ११ जना विद्यार्थी थिए । विसं २०७९ मा त्यो सङ्ख्या १० जनामा झर्यो ।

विद्यालयमा एकजना स्थायी दरबन्दीको शिक्षक, एक अस्थायी र एकजना कार्यालय सहयोगी कार्यरत छन् ।बर्सेनि विद्यार्थीको सङ्ख्या घट्दै गएपछि विद्यालयको अस्तित्व नै धरापमा परेको छ । पैँतीस वर्ष अगाडि स्थापित विद्यालयमा दशक अगाडि विद्यार्थीको चाप हुँदा भुइँमै बसेर पढ्नुपर्ने बाध्यता थियो । तर अहिले भौतिक रूपमा सम्पन्न हुँदा विद्यार्थीको सङ्ख्या निकै कम भएका छन् ।