|  

वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउने मन्त्री अर्यालको प्रतिबद्धता

२१ असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउने बताएका छन् ।

आजको राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले मन्त्रालयले विदेश जाने श्रमिकहरू नठगिने र म्यानपावर व्यवसायीहरूले पनि वैध रूपमा मात्रै रकम लिन पाउने गरी अध्ययन भइरहेको र छिटै कार्यविधि बनाउने बताए । उनले नेपालमा गैरबैंकिङ च्यानलबाट हरेक वर्ष २ खर्ब १ अर्ब ६० करोड रुपैयाँ म्यान पावर व्यवसायीहरूले उठाइरहेको तथ्याङ्क आफूले पाएको भन्दै अहिले अध्ययन गरी व्यवस्थित गराउने तयारीमा आफू रहेको बताए । उनले विदेश जाँदा सीप तालिम सिकेर जान आवश्यक रहेको र सरकार सोही दिशामा अग्रसर रहेको पनि बताए । उनले श्रमिकहरूलाई विदेशमा गएर पनि मर्यादित काम र उचित पारिश्रमिकको व्यवस्था मिलाउने गरी व्यवस्थित गरिने जानकारी दिए ।