|  

एसईई कक्षा आवश्यक भएका विद्यार्थीलाई सम्पर्क नम्बर पठाउन ओलीको अनुरोध !

२१ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षाको तयारीका लागि अनलाइन कक्षा आवश्यक भएका विद्यार्थीलाई सम्पर्क नम्बर उपलब्ध गराउन अनुरोध गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले इच्छुक विद्यार्थीलाई नम्बर पठाउन अनुरोध गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘करिब एक हजार विद्यार्थी भाइबहिनीहरूले हिजैदेखि कक्षा लिन थाल्नु भएको छ । कक्षा लिन चाहनुहुने विद्यार्थी भाइबहिनीहरूले मलाई नाम र मोबाइल नम्बर म्यासेज बक्समा पठाउनुहोला । तपाईंहरूको पढाइ राम्रो होस् ।’

बिहीबार एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एसईईको पूरक परीक्षामा सहभागी हुने विद्यार्थीका लागि अनलाइन मार्फत कक्षा सञ्चालन गर्ने घोषणा गरेका थिए । उक्त कक्षा सुरु भइसकेको भन्दै उनले इच्छुक विद्यार्थीलाई नाम र नम्बर पठाउन अनुरोध गरेका थिए ।